साउन १९, २०८२।
काठमाडौं – यू–२० महिला राष्ट्रिय फुटबल टोलीकी चम्किलो नाम पूर्णिमा राई संकटा क्लबबाट महिला लिग छनोट खेल्ने भएकी छन्। पछिल्लो समयको उत्कृष्ट प्रदर्शनपछि चर्चामा रहेकी पूर्णिमा अब क्लब तहमा पनि आफ्नो कला र क्षमता देखाउन तयार छिन्।
पूर्णिमा राईसँग संकटा क्लबको सम्झौता महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा सम्पन्न भएको हो। क्लबका अनुसार, पूर्णिमाको आगमनले टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको छ।
पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला लिगमा भाग लिएकी थिइन्। उनको करियरले उचाइ गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपबाट पायो, जहाँ उनी सर्वाधिक गोलकर्ता बन्न सफल भइन्। त्यस प्रतियोगितामा उनको निर्णायक प्रदर्शनले नेपाललाई उपविजेता स्थानसम्म पुर्याएको थियो।
हाल उनी नेपाली यू–२० टोलीसँगै भुटानमा एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा भाग लिन गएकी छन्। त्यहाँ उनले पुनः नेपाली टोलीको फरवार्ड लाइन सशक्त बनाउने अपेक्षा गरिएको छ।
संकटा क्लबले एन्फा महिला लिग छनोटमा बलियो टिम निर्माण गर्ने लक्ष्य राखेको छ। पूर्णिमाजस्ता राष्ट्रियस्तरकी खेलाडीलाई टोलीमा समावेश गर्नु क्लबको दीर्घकालीन सोच र रणनीतिक योजना भएको क्लब स्रोतले जानकारी दिएको छ।
क्लबका महासचिव बस्नेतले भने, पूर्णिमाजस्ता खेलाडी हाम्रो टोलीमा आउनुले हामीलाई प्रतिस्पर्धामा मात्र नभई महिला फुटबलको विकासमा पनि सहयोग पुग्नेछ।
मोरङकी १९ वर्षीया पूर्णिमा राई नेपाली महिला फुटबलको उदीयमान ताराका रूपमा देखिइरहेकी छिन्। उनको तीव्र गतिको दौड, बल नियन्त्रण र फिनिशिङ क्षमताले उनीलाई फरक बनाएको छ। साफ च्याम्पियनसिपमा उनको गोल गर्ने क्षमताले धेरै फुटबल विश्लेषकहरूलाई प्रभावित बनाएको थियो।