KATHMANDU DAINIK

सुस्मिता र भीमलाई वर्ष उत्कृष्ट “आइटिएफ” खेलाडीको सम्मान

साउन २२, २०८२।

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २८औं वार्षिकोत्सवको अवसरमा २०८१ सालका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्दै सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मान गरेको छ।

महासंघले आयोजित विशेष कार्यक्रममा महिला वर्गमा सुस्मिता र पुरुष वर्गमा भीमलाई नगदसहित अवार्ड प्रदान गरिएको हो। २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भीमले ३ स्वर्ण जितेका थिए भने सुस्मिताले २ स्वर्ण पदक हात पारेकी थिइन्।

कार्यक्रममा प्रशिक्षक आकाशचन्द्र घर्ती मगरलाई ‘वर्ष उत्कृष्ट प्रशिक्षक’ घोषित गरिएको थियो। प्रदेश संघतर्फ गण्डकी प्रदेश र जिल्ला संघतर्फ गुल्मी जिल्ला उत्कृष्ट घोषित भएका छन्।

भारतको सिलिगुडीमा गत अगस्ट १९ देखि २६ तारिखसम्म आयोजित १०औं एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्ने किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ तथा रजत पदक विजेता चन्द्रबहादुर तामाङलाई पनि सम्मान गरिएको छ।

समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य अञ्जन धमला, आइटिएफ अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

महासंघले वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको कौशल्टारस्थित मानव सेवा आश्रममा खाना खुवाउने र रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको बताएको छ ।

Exit mobile version