KATHMANDU DAINIK

नेपाली क्रिकेट स्थिरताको बाटोमा : पारस खड्का

साउन २२, २०८२।

नेपाल क्रिकेट संघ (क्यान) का महासचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताको बाटोमा रहेको बताएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभामा बोल्दै उनले अन्तर्राष्ट्रिय सफलतासम्म आइपुग्न विभिन्न चुनौतीहरूसँग जुध्दै आएको स्मरण गराए।

खड्काले भने, आज नेपाली क्रिकेटले जुन स्थान पाएको छ त्यो सजिलो यात्राबाट सम्भव भएको होइन। एकदिवसीय मान्यता प्राप्त गर्नदेखि लिएर टोलीको स्थायित्वसम्मका विषयमा धेरै संघर्ष गरियो।

उनका अनुसार क्रिकेटको विकासका लागि अब जिल्ला र प्रदेश संघहरू पनि सशक्त र एकीकृत रूपमा अघि बढ्न आवश्यक छ। उनले हाल क्यानसँग आबद्ध ४५ जिल्ला र सात प्रदेश संघहरूलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो। सो अवसरमा काठमाडौं जिल्ला क्रिकेट संघले पाँच जना क्रिकेटकर्मीलाई सम्मान पनि गरेको छ।

नेपाली यु–१६ पुरुष टोलीका सदस्य प्रसिद्ध जैसी र महिला टोलीकी खेलाडी कृष्मा गुरुङले जनही पाँच हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका हुन्। प्रसिद्धले एसिसी यु–१६ इस्ट जोन कपमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै २४६ रन बनाएका थिए।

यसैगरी आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र प्रशिक्षक सामसनजंग थापा पनि सम्मानित भएका छन्।
संघका अध्यक्ष दिवाकर घलेका अनुसार काठमाडौं जिल्ला क्रिकेट संघले चालु वर्षमा ६ वटा प्रमुख कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ।

प्रधानमन्त्री कप पुरुष तथा महिला छनोटदेखि लिएर यु–१९ तथा एसिसी यु–१६ इस्ट जोन कप छनोट प्रतियोगिता समेत संघले आयोजना गरिसकेको हो।

अध्यक्ष घलेले भने, हामीले खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर दिँदै आएका छौं, र भविष्यमा अझ धेरै कार्यक्रमहरू आयोजना गर्दै जिल्ला मात्र नभई राष्ट्रिय क्रिकेटमा थप योगदान दिने लक्ष्य लिएका छौं।

Exit mobile version