साउन २५, २०८२।
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि सम्पन्न खेलाडी अक्सनमा ए–क्याटेगोरीका चार खेलाडी सबैभन्दा महँगो मूल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्।
चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई लक्की ड्रमार्फत पक्का गर्दै दुई चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ। देवलाई चितवन र लुम्बिनी लायन्सले अधिकतम रकममा चाहेका थिए भने अर्जुनलाई चितवनसहित विराटनगर किङ्स र कर्णाली याक्सले बोली लगाएका थिए।
पहिलो सिजनमा चोटका कारण अक्सनमा नपरेका पवन सर्राफमाथि ४ टोलीको रुचि देखियो। १५ लाखमा पुगेको बोलीपछि लक्की ड्र मा कर्णालीले उनलाई टिममा भित्र्यायो।
अक्सनकै सबैभन्दा बढी प्रतिस्पर्धा आदिल आलममा देखियो। न्युनतम १० लाखबाट सुरु भएको उनको बोली १५ लाखमा पुग्दा सबै ८ टिम इच्छुक थिए। अन्ततः लक्की ड्र मार्फत काठमाण्डु गोर्खाजले उनलाई अनुबन्ध गर्यो।
ए–क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ (लुम्बिनी लायन्स) र सूर्य तामाङ (विराटनगर किङ्स) न्युनतम १० लाखमा टिम पाएका छन्।
अहिलेसम्म २६ खेलाडी अक्सनमार्फत टिममा अनुबन्ध भइसकेका छन् भने बाँकी स्लट टिमहरूले अब ‘विश लिस्ट’बाट भर्नेछन्।