भदौ ४, २०८२।
काठमाडौं – नेपालमा दोस्रो संस्करणको “वात्सल्य एभरेष्ट महिला भलिबल लिग (EWVL)” सुरु हुन लाग्दै गर्दा मधेश युनाइटेडले नेदरल्याण्ड्सकी भलिबल खेलाडी रोमी भिनस्ट्रालाई टोलीमा भित्र्याएको छ। उनी क्लबको इतिहासमा पहिलो विदेशी खेलाडी बनेकी छन्।
भिनस्ट्रा सन् २०२१ देखि नेदरल्याण्ड्सको टप डिभिजन क्लब सुडोसा-डेस्टोबाट खेल्दै आएकी हुन् र त्यहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्स यु-१९ राष्ट्रिय च्याम्पियनसिप समेत जितेकी छिन्।
मधेश युनाइटेडका अनुसार उनको आगमनले टोलीको आक्रमण र डिफेन्स दुबै पक्ष सशक्त हुनेछ। शक्तिशाली स्म्याश र स्थिर प्रदर्शन उनका बलिया पक्ष हुन्।
भिनस्ट्राले नेपालमा खेल्न पाउनु गर्वको विषय भएको बताउँदै नेपालको नाम धेरै सुनेकी थिएँ। यहाँको खेल संस्कृति र सौहार्दता अनुभव गर्न पाउँदा निकै उत्साहित छु उनले भनिन् ।