साउन २२, २०८२।
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा सम्पन्न ‘म्याट्रिक्स फाइटर नाइट’ एमएमए च्याम्पियनसिपमा विजेता बनेका नेपाली फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सम्मान गरेका छन्।
‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरव दिलाएको भन्दै राष्ट्रपति पौडेलले उनको जीत सम्पूर्ण नेपालीको जित भएको बताए।
राष्ट्रपतिले भने, देश–विदेशमा प्रतिस्पर्धा र प्रशिक्षणका अवसरसहित आवश्यक सुविधा उपलब्ध गराएर खेलाडीलाई सम्मान गर्न सकियो भने मात्र उनीहरूले विश्वस्तरीय सफलता हासिल गर्न सक्छन्।

उनले ढाँटको खेल कौशल, समर्पण र आत्मबलको खुलेर प्रशंसा गरे। राष्ट्रपति पौडेलले खेलकुदले शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरकार र सरोकारवालालाई खेल क्षेत्रको दिगो विकासमा क्रियाशील हुन आग्रह गरे।
कार्यक्रममा राष्ट्रपति पौडेलले रविन्द्रको सफलतामा साथ दिने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा खेलाडीहरूको भविष्य खेल क्षेत्रमा नै सुरक्षित राख्न नीति तथा कार्यक्रमहरू ल्याउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
एमएमए च्याम्पियन ढाँटलाई सम्मान गर्दै राष्ट्रपति पौडेलले सरकारले खेलाडीको भविष्य सुरक्षित गर्ने दिशामा विशेष ध्यान दिन जरुरी भएको बताए ।