साउन १९, २०८२।
काठमाडौं – अष्ट्रेलियामा यही साता सुरु हुन लागेको टप इण्ड टि–२० सिरिजका लागि नेपालले १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको टोलीको नेतृत्व नियमित कप्तान रोहित कुमार पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।
यसपटकको टोलीमा केही महत्वपूर्ण फेरबदल गरिएको छ। पछिल्लो पटक स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिज खेलेका किरण कुमार ठगुन्ना, बसिर अहमद र अनिल साह टोलीबाट बाहिर परेका छन्।
अर्कोतर्फ, अलराउण्डर कुशल मल्ल चोटपछिको पुनरागमन गर्दै टोलीमा फर्किएका छन्। यस्तै, चोटकै कारण अघिल्लो श्रृंखला गुमाएका बलर सोमपाल कामी र गुलशन झा पनि यसपटकको टोलीमा समेटिएका छन्।
सिरिजको प्रारम्भिक खेल तालिका यस्तो छ।
अगस्ट १४ – उद्घाटन खेल: पाकिस्तान ‘ए’ vs बंगलादेश ‘ए’
अगस्ट १५ (साउन ३०) – नेपाल vs नर्दन टेरिटोरी स्ट्राइक
अगस्ट १६ (साउन ३१) – नेपाल vs बंगलादेश ‘ए’
अगस्ट १८ (भदौ २) – नेपाल vs मेलवर्न स्टार एकेडेमी
अगस्ट १९ (भदौ ३) – नेपाल vs होर्बट हरिकेन्स एकेडेमी
अगस्ट २० (भदौ ४) – नेपाल vs मेलवर्न रेनेगेड्स एकेडेमी
अगस्ट २२ (भदौ ६) – नेपाल vs पाकिस्तान ‘ए’
नेपाली टोलीले समूह चरणमा ६ खेल खेल्नेछ। समूहको शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने सेमिफाइनल र फाइनल दुवै खेल अगस्ट २४ (भदौ ८) मा हुने तय भएको छ।
अष्ट्रेलियामा आयोजना हुने टप इण्ड टि–२० सिरिज नेपाली टोलीका लागि ठूलो अवसर हो। बलियो टोली छनोटसहित नेपाली टिमले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा नेपाली क्रिकेटप्रेमीहरू यो सिरिजतर्फ उच्च चासोका साथ हेर्ने निश्चित छ।