KATHMANDU DAINIK

रवीन्द्र ढाँटको सफलता: एमएफएन बान्टमवेट च्याम्पियन पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँट, एमएफएन च्याम्पियन, नेपाली फाइटर, एमएमए नेपाल, बान्टमवेट, रेस्लिङ, चुनरेङ कोरेन, मिक्स मार्सल आर्ट्स

साउन १९, २०८२।

बझाङ – नेपालका रवीन्द्र ढाँटले मिक्स मार्सल आर्ट्स (एमएमए) को प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट तौलसमूहको उपाधि जितेका छन्।

भारतमा आयोजित प्रतिस्पर्धामा उनले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमै पराजित गर्दै च्याम्पियन बनेका हुन्। रवीन्द्र एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।

रवीन्द्र ढाँट

‘दि इन्डियन राइनो’ को उपनामले परिचित कोरेनको पाँच जितको शृंखलामा पूर्णविराम लगाउँदै रवीन्द्रले आफ्नो प्रोफेसनल रेकर्ड ८–१ मा पुर्याएका छन्। कोरेनले खेलको सुरुवातमै दबाब सिर्जना गर्ने प्रयास गरे पनि ढाँटको संयम, कुशल रणनीति र शक्तिशाली फाइटिङ शैली अगाडि उनी टिक्न सकेनन्।

तेस्रो राउन्डमा रवीन्द्रले प्रहार बढाएपछि कोरेन संकटमा परे। रेफ्रीले अवस्था खतरनाक देखी फाइट रोक्दै रवीन्द्रलाई टेक्निकल नक्कआउट (T.K.O) द्वारा विजेता घोषित गरे। रेस्लिङमा सशक्त र एमएमएको आक्रामक खेलाडीको रूपमा चिनिँदै आएका रवीन्द्रका लागि यो उपाधि नेपाली एमएमएको इतिहासमै कोसेढुंगा सावित भएको छ।

खेलपछि रवीन्द्रले पिजरमाथि नेपाली झन्डा फहराउँदै आफ्नो देशलाई समर्पण गरेका थिए। खेल हेर्न आएका दर्शक र आयोजकबीच उत्साह र स्याबासीको लहर चल्यो। सामाजिक सञ्जालमा उनका समर्थकहरूले बधाईको वर्षा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, गायिका रचना रिमाललगायत थुप्रै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत उनको प्रशंसा गरेका छन्। बझाङको बित्थडचिर गाउँपालिकाबाट सुरु भएको रवीन्द्रको यात्राले अन्तर्राष्ट्रिय जगतमा पुगेर सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ।

Exit mobile version