
भदौ ४, २०८२।
काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ।
प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर धकेल्यो।
नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा उपाधि जित्ने लक्ष्य राखिएको बताएका थिए। तर प्रतियोगिताको पहिलो खेलमै टिमले झट्का बेहोर्नु परेको छ।
यो प्रतियोगिता डबल राउण्ड रोबिन लिग स्वरूपमा अगस्ट २० देखि ३१ सम्म सञ्चालन हुनेछ, जसमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान सहभागी छन्।