KATHMANDU DAINIK

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

साउन १९, २०८२।

काठमाडौं – नेपाल रग्बी संघले आगामी एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ का लागि नेपाली यु–२० महिला रग्बी टोलीको घोषणा गरेको छ। भारतको बिहार राज्यको राजगीर स्पोर्ट्स कम्प्लेक्समा साउन २४ देखि २७ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालसहित एशियाका ११ देशका युवा टोलीहरूको सहभागिता रहनेछ।

नेपाल रग्बी संघले १३ सदस्यीय नेपाली महिला टोली आइतबार सार्वजनिक गरेको हो। पछिल्लो संस्करण नेपालमै आयोजना भएको उक्त प्रतियोगिता यसपालि भारतमा हुँदैछ।

घोषित नेपाली टोली:

सम्झौता तुम्बापो, लक्की बलम्पाकी मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोशना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रामिरा शाही रहेका छन् ।

टोलीको प्रशिक्षणको जिम्मेवारी सावित्री पुर्जालाई दिइएको छ। संघका महासचिव गोविन्द घिमिरेका अनुसार टोली अहिले सर्लाहीको राधाकृष्ण खेलमैदानमा अभ्यासमा व्यस्त छ।

महासचिव घिमिरेका अनुसार प्रतियोगिता स्थल भारतको जलवायुसँग मिल्दोजुल्दो वातावरण बनाउन टोलीलाई पछिल्लो एक महिनादेखि तयारीमा राखिएको हो। टोली साउन २२ गते भारत प्रस्थान गर्नेछ।

प्रतियोगितामा ८ महिला र ८ पुरुष यु–२० टोलीबीच प्रतिस्पर्धा हुनेछ। नेपाल महिला तर्फबाट सहभागी हुने टोलीमध्ये एक हो। प्रतियोगिता एसिया रग्बीको आयोजनामा हुँदैछ।

नेपाल रग्बी संघले पछिल्ला वर्षहरूमा युवा स्तरीय अन्तर्राष्ट्रिय सहभागितामा ध्यान दिँदै आएको छ। यस्ता प्रतियोगिताहरूले नेपाली महिला रग्बी खेलाडीहरूको आत्मविश्वास र अनुभव बढाउने विश्वास गरिएको छ।

Exit mobile version