KATHMANDU DAINIK

हर्क जस्तो छोरा जन्माउने आमालाई ‘कोखको सम्मान’ गर्ने

साउन २९, २०८२।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकी आमा जसमाया राईलाई ‘मैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।

श्रम संस्कृति र सुशासनको पक्षमा उल्लेखनीय योगदान दिएका मेयर साम्पाङलाई सुपुत्रको रूपमा समाजले पाएको भन्दै उनकी आमालाई ‘कोखको सम्मान’ स्वरूप नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिने भएको हो।

अनलाइन अभिलेख प्रालिले आफ्ना संस्थापक डा. पुरण राईको जन्मदिनको अवसर पारेर उक्त सम्मानको घोषणा गरेको हो। कार्यक्रममा साहित्यकार डा. चमा थुलुङ (सुकराज राई) संयोजक रहेको छनोट समितिले निर्णय सार्वजनिक गरेको थियो। समितिमा टंक भट्टराई, सम्पदा लिम्बू, योगेन्द्र राई र डिल्लीरमण सुवेदी सदस्यका रूपमा रहेका छन्।

संस्थापक डा. पुरण राईका अनुसार भाषा, साहित्य, कला, संस्कृति र राजनीति लगायतका क्षेत्रमा योगदान दिने व्यक्तित्वका आमालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको हो।

धेरै क्षेत्रमा पुरस्कार दिइन्छ, तर आमाको नाममा भने कम छ। आमाको कोखबाट असल नागरिक जन्मिए भन्ने सन्देश दिने उद्देश्यले यो थालनी गरिएको हो, डा. राईले भने।

खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थायी घर भएकी जसमाया राई हाल धरानमा बस्दै आएकी छन्। सम्मान विशेष महिलाको जन्मदिन वा चाडपर्वको अवसरमा प्रदान गरिने प्रावधान रहेको बताइएको छ।

Exit mobile version