KATHMANDU DAINIK

प्रतिनिधि सभाको बैठक आज बस्दै,महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

साउन १९, २०८२।

काठमाडौं – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रतिनिधि सभाका महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धी राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी सभामा प्रस्तुत गर्नेछन्।

उक्त विधेयक संविधानमा व्यवस्था गरिएको संवैधानिक परिषद्को कार्यविधिमा स्पष्टता ल्याउन र कार्यसम्पादनलाई सहज बनाउने उद्देश्यले ल्याइएको हो।

त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखित सुझावहरूलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृति प्रदान गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ। यस विधेयकले राष्ट्रिय खेलकूद नीति तथा पूर्वाधार विकास, खेलकूद संगठनको संरचना र खेलाडीको हकहित सुनिश्चित गर्ने प्रावधानहरू समेट्ने अपेक्षा गरिएको छ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठन (WTO) को मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता अनुमोदनका लागि प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्। यो सम्झौताले नेपालको माछा तथा मत्स्यजन्य उत्पादन निर्यातमा अन्तर्राष्ट्रिय सहुलियत प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Exit mobile version