साउन ३१, २०८२।
वीरगन्ज – वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगन्जमा एक विशेष समारोहबीच अनावरण गरिएको छ। प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुने छ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेड की ब्रान्ड एम्बासडर तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह ले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन्। कार्यक्रममा मधेश युनाइटेडको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो, जुन जर्सी प्रमुख खेलाडी निरुता ठगुन्ना लाई हस्तान्तरण गरिएको थियो।
मेयर सिंहले कार्यक्रममा भने, महिला भलिबल लिगले न केवल खेलको विकास मात्रै होईन, यो महिला सशक्तीकरण र सामाजिक परिवर्तनको अभियान पनि हो। वीरगन्ज महानगरपालिका खेल प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध छ।
मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य ले मधेशमा भलिबल खेलको सम्भावना र विस्तारबारे सुझाव प्रस्तुत गरे। मधेश युनाइटेडकी प्रमुख खुशी सिवाकोटी ले टिमको विगत, वर्तमान रणनीति र आगामी योजनाहरूबारे जानकारी दिँदै सुधार र प्रतिबद्धताका साथ कोर्टमा फर्किने बताइन्।
यसपटक मधेश युनाइटेडले नेदरल्यान्डसका तीन विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास गरिएको छ।
ब्रान्ड एम्बासडर नीति शाहले भनिन्, “मधेश युनाइटेडको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो। यो टिम प्रेरणा, संघर्ष र जितको प्रतिनिधित्व हो।
मार्की खेलाडी निरुता ठगुन्नाले भने, यसपटक ट्रफी मधेशमै ल्याउने हाम्रो संकल्प छ।
सञ्चालक शर्मिला थापा ले भलिबललाई राष्ट्रिय एकताको प्रतीक भन्दै भनिन्, दार्चुलाबाट आएकी निरुतालाई मधेशको टिममा देखिनु एकताको सन्देश हो। अर्का सञ्चालक अनोज रुङ्टा ले टिमप्रति समर्थन र सहयोगको आह्वान गरे।