मंसिर ४, २०८२। काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका २० वाणिज्य बैंकहरूको कुल सम्पत्ति–दायित्व झन्डै ८१ खर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको यो संख्याले बैंकिङ क्षेत्र विस्तारमै रहेको संकेत गर्छ।
प्रतिवेदन अनुसार बैंकहरूको कुल सम्पत्ति–दायित्व ८० खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। निक्षेप परिचालन १३.७ प्रतिशतले बढेर ६५ खर्ब ३१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यसकै वृद्धि दर १३.३ प्रतिशत थियो।
निक्षेपमध्ये चल्ती खातामा उल्लेख्य वृद्धि देखिएको छ। चल्ती निक्षेप ३८.९ प्रतिशत र बचत निक्षेप ३६.६ प्रतिशतले बढेको छ भने मुद्दती निक्षेप २ प्रतिशतले घटेको छ।
यसैगरी, बैंकहरूको कर्जा तथा लगानी ७.२ प्रतिशतले बढेर ६२ खर्ब ९५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि ७.७ प्रतिशत थियो। निजी क्षेत्रतर्फ कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ। निजी क्षेत्र कर्जा–जीडीपी अनुपात ७९.९ प्रतिशत पुगेको छ।
वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेकाे लगानी पनि बढेको छ। समीक्षा वर्षमा सरकारी ऋणपत्रमा लगानी १० खर्ब ३१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। तरल सम्पत्ति १७ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ, जुन कुल निक्षेपको २६.७१ प्रतिशत हो।
प्रतिवेदनले निक्षेप, कर्जा तथा ऋणपत्र लगानीमा वृद्धि देखिएको भन्दै वाणिज्य बैंकहरूको समग्र वित्तीय अवस्था स्थिर रहेको निष्कर्ष निकालेको छ।