भदौ १, २०८२।
काठमाडौं – देशको बैंक तथा वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। मौद्रिक सन्तुलन कायम राख्न राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्दै यो रकम झिक्न लागेको हो।
राष्ट्र बैंकका अनुसार यो रकम ३१ दिनको अवधिका लागि बजारबाट संकलन गरिनेछ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम, अर्थात तरलता, अत्यधिक भएपछि राष्ट्र बैंकले यो साता दुईपटक आइतबार र बुधबार बोलकबोल प्रणालीमार्फत पैसा झिक्ने प्रक्रिया अघि बढाएको छ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा औसत ६ खर्ब रुपैयाँभन्दा बढी तरलता रहँदै आएको थियो। असार मसान्तसम्ममा यो रकम बढेर साढे १० खर्ब पुगेको हो। नयाँ आर्थिक वर्षको सुरुवातसँगै पनि उक्त रकम करिब त्यही अवस्थामा रहेकाले राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्न पहल तीव्र बनाएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल प्रक्रियामा घटिमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्मको प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ। खरिद गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यसरी संकलन गरिने निक्षेपमा ब्याजदरको आधारमा प्रतिस्पर्धा गरिनेछ। बहुब्याजदर प्रणाली अनुसार संस्थाहरूले विभिन्न दरमा प्रस्ताव पेश गर्न सक्ने छन्।