KATHMANDU DAINIK

महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानको आवेदन खुला

महिला क्रिकेट जर्सी प्रायोजन, क्यान आवेदन, Nepal Women’s Cricket Jersey Sponsorship, नेपाल क्रिकेट संघ, महिला राष्ट्रिय टोली प्रायोजन, sports sponsorship Nepal

साउन २८, २०८२।

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि इच्छुक कम्पनी र ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ।

क्यानले यसअघि पुरुष राष्ट्रिय टोलीको जर्सी प्रायोजन सार्वजनिक आवेदनमार्फत गरेको थियो भने, अब पहिलोपटक महिला टोलीका लागि पनि यो प्रक्रिया सुरु गरेको हो। प्रायोजन रकम न्यूनतम वार्षिक ६० लाख रुपैयाँ तोकिएको छ, जसको अवधि ३ वर्ष रहनेछ। आपसी सहमतिमा यो अवधि थप गर्न सकिने व्यवस्था पनि राखिएको छ।

प्रायोजन अन्तर्गत कम्पनी वा ब्रान्डको लोगो महिला टोलीको जर्सीको अगाडि रहनेछ। आवेदनका लागि सरकारी कानुनअनुसार अनुमति प्राप्त कुनै पनि ब्रान्ड सहभागी हुन पाउनेछन्। आवेदन ३० साउन बिहान ११ बजेभित्र क्यानको मुलपानीस्थित कार्यालयमा बुझाउनुपर्नेछ।

आवेदन बुझाउँदा कम्पनीको लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रहनेछ। साथै ३० हजार रुपैयाँको धरौटी रकम सिद्धार्थ बैंक, हातिसार शाखामा जम्मा गर्नुपर्नेछ।

आवेदनसँगै कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आवश्यक लाइसेन्स, कम्पनी प्रोफाइल, ब्रान्डिङ योजना तथा अघिल्लो प्रायोजन अनुभव (भए) पनि पेश गर्नुपर्नेछ।

हाल पुरुष क्रिकेट टोलीको जर्सी प्रायोजक नासा सेक्युरिटिज रहेको छ। क्यानको यो पहल महिला क्रिकेटको व्यावसायिकिकरण र खेलाडीको पहिचान विस्तारमा सहयोगी हुने अपेक्षा गरिएको छ।

Exit mobile version