KATHMANDU DAINIK

मधेश क्रिकेट र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता

साउन २७, २०८२।

काठमाडौँ – मधेश प्रदेश क्रिकेट संघ र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले हस्ताक्षर गरे। सम्झौतामा आर्थिक विवरण सार्वजनिक नगरिए पनि सहकार्य अन्तर्गत फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउने र त्यसमा आफ्नो नाम अंकित गर्नेछ।

शैक्षिक परामर्शदाता संस्थाका रूपमा परिचित कृष्णा फाउन्डेसनले शिक्षा र खेलकुदलाई जोडेर विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको बताएको छ। उपाध्यक्ष कर्णका अनुसार फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्दै आएको छ र अब खेलकुदमार्फत अझ धेरै विद्यार्थीमा पुग्ने योजना छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यो सहकार्यको प्रशंसा गर्दै यसले प्रदेश क्रिकेट संघलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने र अन्य प्रदेशले पनि यस्तै पहल गर्नुपर्ने धारणा राखे।

मधेश क्रिकेटका अध्यक्ष महासेठले प्रायोजनबाट प्राप्त सहयोग रकमलाई ग्रासरुट क्रिकेटको विकासमा प्रयोग गर्ने बताए। उनका अनुसार हाल १० खेलाडीलाई दिँदै आएको मासिक तलब अब थप २ खेलाडीलाई समेत दिने योजना छ।

राष्ट्रिय टिमका मधेशका खेलाडीहरू पवन सर्राफ, रुपेश सिंह र आदिल आलमले यस सहकार्यप्रति खुसी व्यक्त गर्दै यसले खेलाडीलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

 

Exit mobile version