कार्तिक २७, २०८२। प्रयास लामा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छामाथि पार्टीले कडा कारबाहीको सिफारिस गरेको छ। पार्टीको अनुशासन समितिले उनलाई सांसद पद र साधारण सदस्यता दुवै नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो।
यसअघि पार्टीले बिच्छालाई २४ घण्टे स्पष्टीकरण मागेको थियो। उनले पार्टीको निर्देशन विपरीत सरकारमा सामेल भएको भन्दै समितिले यस्तो सिफारिस गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए। तर उनले पार्टीको निर्णयलाई बेवास्ता गर्दै मन्त्री पद स्वीकारेकी थिइन्। समितिको मूल्यांकनमा उनले पार्टीको नीति, सिद्धान्त र हित विपरीत गैरजिम्मेवारपूर्वक र अनुशासनहीन कार्य गरेकी ठहर गर्दै कार्वाहीको सिफारिस गरेको जनाइएको छ।
कञ्चन बिच्छा केही दिनअघि मधेश प्रदेशमा मन्त्री नियुक्त भएकी थिइन्। पार्टीभित्र यो कदमलाई “एकल र स्वार्थपरक निर्णय” भन्दै तीव्र आलोचना गरिएको थियो।