कार्तिक २६, २०८२। राज नेपाली
काठमाडौँ – नेपाल एयरलाइन्स कर्पोरेसनले देशका दुर्गम क्षेत्रहरूमा सेवा दिँदै आएको ट्विनअटर जहाज ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।
यो ट्विनअटर जहाज सेप्टेम्बर २०२५ देखि इन्जिन मर्मत तथा वार्षिक जाँचका कारण ग्राउन्डेड अवस्थामा थियो। तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजलाई मर्मतका लागि रोकेका थिए।
निमित्त महाप्रबन्धक जनकराज कालाखेतीको निर्देशनमा आवश्यक मर्मत कार्य सोमबार सम्पन्न भएसँगै बुधबार परीक्षण उडान सफलतापूर्वक गरिएको निगमका निर्देशकहरूले जनाएका छन्। सफल परीक्षणपछि नेपाल एयरलाइन्सले मंगलबारदेखि आफ्ना दुवै ट्विनअटर जहाजमार्फत आन्तरिक व्यावसायिक उडान पुनः सुरु गरेको हो।
निगमका अनुसार दुवै ट्विनअटर सञ्चालनमा आएसँगै विशेषगरी पूर्वी भेगका दुर्गम क्षेत्रमा आवागमन गर्ने यात्रुहरूलाई सहजता हुने विश्वास व्यक्त गरिएको छ।
नेपाल एयरलाइन्सले अहिले देशका पहाडी र हिमाली भेगका विभिन्न विमानस्थलमा नियमित रूपमा उडान सञ्चालन गर्दै आएको छ।
