कार्तिक २६, २०८२। काठमाडौं दैनिक संवाददाता

सिरहा – सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायको घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार वडाध्यक्ष यादवलाई कानुनबमोजिम थुनछेकका लागि पेस गरिएको हो।
गत असोज १७ गते दिउँसो स्थानीय ५० जनाभन्दा बढीको समूहले पाँच दलित परिवार- राजकुमार, रासलाल, अशोक, बिन्दे र सोभित पासवानका घर तोडफोड गरेको थियो।
उक्त घटनामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव तथा जातीय छुवाछूतसम्बन्धी कसुरमा मिर्चैया इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको थियो।
घटनापछि पक्राउ परेकामध्ये वडाध्यक्ष यादव रिहा भएका थिए, तर पछि अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको थियो। हाल उनलाई पुनः नियन्त्रणमा लिई पुर्पक्षका लागि अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
यो प्रकरणले मधेश प्रदेशमा जातीय विभेद र दलित समुदायमाथिको समाजमा हुने हिंसाबारे पुनः चर्चा र चिन्ता उत्पन्न गरेको छ।