सिरहा – सिरहाको कल्याणपुर नगरपालिका–८ अरङमा दलित समुदायको घर तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार वडाध्यक्ष यादवलाई कानुनबमोजिम थुनछेकका लागि पेस गरिएको हो।
गत असोज १७ गते दिउँसो स्थानीय ५० जनाभन्दा बढीको समूहले पाँच दलित परिवार- राजकुमार, रासलाल, अशोक, बिन्दे र सोभित पासवानका घर तोडफोड गरेको थियो।
उक्त घटनामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव तथा जातीय छुवाछूतसम्बन्धी कसुरमा मिर्चैया इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको थियो।
घटनापछि पक्राउ परेकामध्ये वडाध्यक्ष यादव रिहा भएका थिए, तर पछि अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको थियो। हाल उनलाई पुनः नियन्त्रणमा लिई पुर्पक्षका लागि अदालतमा पठाइएको प्रहरीले जनाएको छ।
यो प्रकरणले मधेश प्रदेशमा जातीय विभेद र दलित समुदायमाथिको समाजमा हुने हिंसाबारे पुनः चर्चा र चिन्ता उत्पन्न गरेको छ।
रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।
प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।
असई रागनी यादव
यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।
लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।