KATHMANDU DAINIK

दक्षिण कोरिया पुगेका सञ्चारमन्त्री खरेल भन्छन् : फागुन २१ गते निर्वाचनको वातावरण बनिसक्यो

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

Jagdish Kharel, सञ्चार मन्त्री, निर्वाचन वातावरण, दक्षिण कोरिया भ्रमण, नेपाल पत्रकार महासङ्घ, सुरक्षा, सरकार, राजनीतिक दल, डिजिटल रूपान्तरण, एआई, राष्ट्रिय एआई केन्द्र, विदेशमा रहेका नेपाली, मतदान व्यवस्था, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, नवप्रवर्द्धन

काठमाडौं – दक्षिण कोरियामा औपचारिक भ्रमणमा रहेका सञ्चारमन्त्री जगदीश खरेलले नेपालमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्।

दक्षिण कोरियामा रहेका नेपालीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते तोकिएको निर्वाचन “निर्धारित मितिमै, भयरहित वातावरणमा” सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार, सुरक्षा निकाय र राजनीतिक दलहरुबीच सहकार्यमा निर्वाचनको सहज वातावरण बन्दै गएको बताएको हो ।

मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य लक्ष्य सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्द्धन रहेको बताए।

खरेलले भने, यो सरकारले नराम्रो गर्ने छुट छैन। पाँच महिनामा केही ठोस थितिहरू बसालिन्छ।

खरेलले एआई, डिजिटल ट्रान्सफर्मेसन र प्रविधि क्षेत्र नेपालको दिगो भविष्य भएको उल्लेख गर्दै कोरियासँग प्राविधिक ज्ञान, सीप र नीति समन्वयमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाए। नेपालले स्थापना गरेको राष्ट्रिय एआई केन्द्रका लागि कोरियाको सहयोग अपेक्षित रहेको उनले बताए।

Exit mobile version