
भदौ ४, २०८२।
काठमाडौं – थाइल्याण्डकी उत्कृष्ट भलिबल खेलाडी वारन्या श्रीलाओङ फेरि पनि ललितपुर क्विन्सबाटै खेल्ने भएकी छन्। सात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उनलाई निरन्तरता दिइएको हो।
ललितपुर क्विन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै वारन्यासँग पुनः अनुबन्धन गरिएको जानकारी दिएको छ। पहिलो संस्करणमा उपविजेता बनेको ललितपुरको सफल यात्रामा वारन्याको योगदान उल्लेखनीय थियो। दोस्रो संस्करणका लागि उनी आगामी साता नेपाल आउने छन्।
यससँगै ललितपुरले थाइल्याण्डकै अर्की अनुभवी सेटर पट्राथिप सान्त्रकुनलाई पनि टिममा राखेको छ। सान्त्रकुनले पनि पहिलो संस्करणमा ललितपुरकै तर्फबाट खेलेकी थिइन्।
टोलीको कप्तानी सलिना श्रेष्ठले गर्नेछिन् भने ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई समेत अनुबन्धन गरेको छ।
गुडविल एम्बासडरका रूपमा तीन पटकको दक्षिण एशियाली खेलकुद स्वर्ण विजेता आयशा शाक्यलाई नियुक्त गरिएको छ।
भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा ललितपुर क्विन्सको प्रशिक्षणको जिम्मेवारी कोच उत्सव खड्काले लिने छन्।
थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङको खेल यहाँबाट हेर्नुहोस् ।