KATHMANDU DAINIK

सुदन गुरुङको कडा प्रश्न : लोप्पा स्वीकार्ने गृहमन्त्रीले पदमा बसिरहन मिल्छ?

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

काठमाडौ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आरोपहरूको वर्षा गरेका छन्। उनले शक्तिशाली व्यक्तिहरू खुलेआम कानून मिचेर हिंड्दा पनि सरकार मौन बसेको भन्दै गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा गुरुङले भनेका छन्, दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ अभिव्यक्ति दिने, काटमार गर्ने चेतावनी दिनेहरू खुलेआम हिँडिरहेका छन्। तर गृहमन्त्रीसँग त्यस्ता व्यक्तिलाई समातेर छानबिन गर्ने आँट देखिँदैन।

उनका अनुसार, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि नै गोली ताक्नेहरूलाई कारबाही हुनुपर्ने बेला सरकार उल्टै हेपाहा प्रवृत्तिमा उत्रिएको छ। गुरुङले थप प्रश्न गरेका छन्, संविधानविद् भनेर चिनिने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन ठुलालाई चैन’ लेखिएको छ ?

गुरुङले पछिल्लो समय शक्तिशाली व्यक्तिहरू लोप्पा खुवाउँदै हिँडेको, राज्य संयन्त्र आफूखुशी चलाएको र ‘विधिको शासन’ लागू नभएको आरोप पनि लगाएका छन्। त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न गृहमन्त्रीज्यू कत्तिको सुहाउँछ ? भन्दै गुरुङले प्रश्न गरेका छन् ।

उनी भन्छन्, मृतक र घाइतेको न्याय सुनिश्चित नगरी आगामी निर्वाचन सम्भव नहुने कुरा सरकारले बुझ्नुपर्छ। गुरुङको भनाइ अनुसार, न्याय बिना जनतामा आक्रोश थपिँदै गएको छ र मन्त्रालयले देखाएको कमजोरीले सरकारप्रति अविश्वास बढाएको छ।

Exit mobile version