मंसिर ४, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौ – बाराको सिमरा बाराको सिमरा चोकमा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा दुई जना एमाले वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगर–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडानम्बर ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। उनिहरु दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
बुधबार बिहान सिमरा चोकमा उत्पन्न तनावका बीच जेनजी युवामाथि हातपात भएको आरोपपछि जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ, अन्सारीसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
उपाध्यायले दिएको जाहेरीअनुसार बाँकी चार जना फरार रहेकाले जेनजी युवाहरू आज बिहीबार बिहान १० बजेबाट सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका कारण सिमरा चोक क्षेत्रमा यातायात अवरुद्ध बनेको छ।
एमालेले बुधबार बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय युवा भेलालाई लक्षित गर्दै जेनजी समूहले मंगलबार रातिदेखि शान्तिपूर्ण विरोधको आह्वान गरेको थियो। सोही आव्हानपछि बुधबार बिहान सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच विवाद पैदा भएको थियो।
विवादपछि आक्रोशित समूहले सिमरा विमानस्थलतर्फ धकेलिँदा स्थिति थप तनावपूर्ण बनेको थियो। जेनजी युवाहरूले विमानस्थलको मुख्य गेट ढालेर ढुंगा तथा सिसाका बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो।
हाल घटनास्थल आसपास प्रहरीको थप बल परिचालन गरिएको छ र स्थिति नियन्त्रण निर्देशनमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।