KATHMANDU DAINIK

सिटी होटलका २१ लाख बढी सेयर आजदेखि लिलामीमा

कार्तिक २३, २०८२।   राज नेपाली

सिटी होटल, हकप्रद सेयर, लिलामी, प्रभु क्यापिटल, शेयर बजार नेपाल, अर्थ समाचार, सिटी होटल लिलामी २०८२, शेयर मार्केट अपडेट, अर्थ संसार, Right Share Auction Nepal

काठमाडौं – सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले यसअघि बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर आजदेखि सर्वसाधारण लगानीकर्तामाझ लिलामीमार्फत बिक्री खुला गरेको हो।

यीमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर रहेका छन्। संस्थापक र कर्मचारी समूहका सेयरमा लक–इन अवधि २०८३ जेठ ४ गतेसम्म रहनेछ।

लिलामीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ र लगानीकर्ताले यसभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले प्राथमिकताका आधारमा सेयर पाउनेछन्।

लिलामीमा सहभागी हुनका लागि कम्तीमा १०० कित्ताको आवेदन अनिवार्य गरिएको छ। आवेदन दिने अन्तिम मिति कात्तिक ३० गतेसम्म तोकिएको छ।

काठमाडौंका लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आवेदन दिन सक्नेछन् भने काठमाडौं बाहिरका लगानीकर्ताले प्रभु बैंकका बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि सिटी होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर थियो। नेपाल धितोपत्र बोर्डले यस वर्ष साउन ४ गते उक्त निष्कासनको अनुमति दिएको थियो।

Exit mobile version