साउन १९, २०८२।
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पछिल्ला तीन कारोबार दिनमा करिब डेढ सय अंकले घट्दै पुनः २९ सय बिन्दु मुनि झरेको छ। मंगलबार तीन हजार माथि पुगेको नेप्से आइतबार २८५८.९० बिन्दुमा झरेको हो जुन साउन १ कै बिन्दुसँग मिल्दोजुल्दो हो।
तीन दिनको अवधिमा कुल १४३ अंकले घटेको नेप्सेमा विशेषगरी बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका उपसमूहमा व्यापक गिरावट देखिएको छ। आइतबार मात्र १६ कम्पनीको सेयर मूल्य बढ्दा २ सय ३३ कम्पनीको मूल्य घट्यो।
गत बुधबार नेप्से ४७.९३ अंकले, बिहीबार ३१.५० अंकले घटेको थियो भने आइतबार २.१८ प्रतिशतले घट्दै ६४ अंकको गिरावट आएको हो। यसदिन १ लाख ५२ हजार ५ सय १८ पटक कारोबार भई ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम पनि घटेर १३ अर्ब ७ करोड ५० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो बिहीबारको १५ अर्ब ९८ करोडको तुलनामा कम हो।
घट्ने उपसमूहहरूको अवस्था यस्तो छ।
जीवन बिमा: २९७.९४ अंकले गिरावट
निर्जीवन बिमा: २२९.५३ अंक
उत्पादन तथा प्रशोधन: १९४.९१ अंक
लघुवित्त: १६७.१२ अंक
विकास बैंक: १०४.८२ अंक
यसैबीच ट्रेड टावर र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सान्भी इनर्जीको ९.९९ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९६ प्रतिशतले घटेको छ।
उच्च कारोबार भएका कम्पनीहरू:
नेपाल रिइन्स्योरेन्स: ७५.३९ करोड
हिमालयन रिइन्स्योरेन्स: ७१.५५ करोड
हिमालयन डिस्टिलरी: ५८.८२ करोड
शिवम् सिमेन्ट: ५५.०२ करोड
ङादी ग्रुप पावर: ४२.५५ करोड
बजार पुँजीकरणमा ठूलो गिरावट
नेप्से घटेसँगै सेयर बजारको कुल आकार १ खर्ब ४ अर्ब ९० करोड ७९ लाख रुपैयाँले घटेको छ। बिहीबार ४८ खर्ब ७६ अर्बमा पुगेको बजार पूँजीकरण आइतबार ४७ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको हो।
सेक्टर अनुसार कारोबार यस्तो रह्यो:
हाइड्रोपावर: ४ अर्ब २८ करोड
उत्पादन/प्रशोधन: १.३८ अर्ब
विकास बैंक: १.२० अर्ब
लघुवित्त: १.१२ अर्ब
बैंकिङ: १.०८ अर्ब
जीवन बिमा: ४८ करोड
निर्जीवन बिमा: २१ करोड
सामूहिक लगानी कोष: ९ करोड
ऋणपत्र: ३२ लाख
बजार विश्लेषकहरूका अनुसार बिमा र बैंकिङ क्षेत्रमा देखिएको निरन्तर गिरावट, लगानीकर्ताको मनोविज्ञान र बजारमा प्रवाह भएको नकारात्मक संकेतका कारण बजारमा निराशा छाएको छ।