भदौ १, २०८२।
काठमाडौँ – नेपालमा सेयर बजारमा लगानी गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ। तर, लगानीकर्ताको सक्रियता भने अपेक्षाकृत कम देखिएको छ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, २०८२ भाद्र १ सम्म कुल ७० लाख १० हजार ९१६ जनाले डिम्याट खाता खोलेका छन्, जुन देशको कुल जनसंख्याको झण्डै २४ प्रतिशत हो।
डिम्याट खाता खोल्ने सबै लगानीकर्ता दोस्रो बजारमा सेयर कारोबारमा संलग्न छैनन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार, दोस्रो बजारमा कारोबारका लागि ४१ लाख ८९ हजार ६७७ जनाले खाता खोलेका छन्। तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र १० हजार ४६ वटा संस्थागत खाता छन्।
यति धेरै खाता खुले पनि दोस्रो बजारमा सक्रिय लगानीकर्ता मात्र १२ लाख ४८ हजार ८५५ जना छन्। नेप्सेका अनुसार गत एक वर्षमा कम्तीमा एक कारोबार गरेका व्यक्तिलाई मात्र “सक्रिय लगानीकर्ता” को रुपमा गनिन्छ।
हाल सेयर बजारमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। यसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहमा पर्छन्।
बजार पूँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा बीमा कम्पनीको ५२.१ प्रतिशत रहेको छ। त्यसपछिको स्थानमा जलविद्युत् कम्पनी (१६.१%), लगानी कम्पनी (८%), उत्पादन तथा प्रशोधन (५.५%), व्यापार (५.३%), होटेल (२.८%) र अन्य (१०.२%) छन्।
सेयर बजारमा सहभागिता बढिरहेको भए पनि सक्रियता र वित्तीय साक्षरताको अभावले बजारको दीर्घकालीन स्थायित्वमा चुनौती थपिरहेको विज्ञहरू बताउँछन्।