KATHMANDU DAINIK

साफ वुमेन्स क्लब च्याम्पियनसिपमा एपीएफको धमाकेदार शुरूवात, नसरिनमाथि ४–० को विजय

मंसिर २०, २०८२।  काठमाडौँ दैनिक संवाददाता

एपीएफ क्लब, साफ वुमेन्स क्लब च्याम्पियनसिप, नसरिन स्पोर्ट्स एकेडेमी, नेपाली महिला फुटबल, रश्मिकुमारी घिसिङ, मीना देउवा, दशरथ रंगशाला, SAFF Women’s Club Championship, Nepal Football News, Kathmandu Dainik Sports News

काठमाडौँ – दक्षिण एसियाली महिला फुटबलले शुक्रबार नयाँ यात्राको सुरुआत गरिरहेको बेला एपीएफ क्लबले पहिलो कदमनै प्रभावशाली बनाउँदै बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गर्‍यो। दशरथ रंगशालामा भएको खेलमा रश्मिकुमारी घिसिङ र मीना देउवाले दुई–दुई गोल गर्दै एपीएफलाई सहज जित दिलाए।

नेपालको लिग च्याम्पियन एपीएफले यस प्रतियोगिताका लागि लगभग सबै राष्ट्रिय टिमका खेलाडी नै उतारेको थियो, जबकि नसरिन भने उमेर समूहका खेलाडीले भरिएको टिम थियो। त्यसैले जित अनुमानित भए पनि टिमले अपेक्षाकृत केही संघर्ष व्यहोर्नुपर्‍यो।

राष्ट्रिय टिम इन्डोनेसिया यात्राबाट एक दिनपहिले मात्र फर्किएकाले खेलको सुरुआतमा एपीएफमा समन्वयको अभाव देखियो। तर प्रशिक्षक जीवेश पाण्डेले खेलाडीहरूको प्रयासको प्रशंसा गर्दै भने, आज जति खेले, त्यो नै ठूलो कुरा हो। केही दिन आरामपछि टिम अझ धारिलो बन्छ।

गोलको वर्षा: रश्मि र मीना चम्किए

३८ औँ मिनेटमा मीनाको ब्याकपासलाई उपयोग गर्दै रश्मिले पहिलो गोल गरिन्।
७१ औँ मिनेटमा मीनाले एक्लै बल कुटेर सुन्दर दोस्रो गोल थपिन्।
८१ औँ मिनेटमा रश्मिले पेनाल्टी क्षेत्रमा नियन्त्रण लिँदै तेस्रो गोल गरिन्।
इन्जुरी टाइममा मीनाले पुनः जाली चुमाउँदै जितलाई ४–० मा पुर्‍याइन्।

यस जितसँगै एपीएफ समूहको शीर्षस्थानमा पुगेको छ।

बंगलादेशी टिमका प्रशिक्षक मोनिर हुसेनले भने, हाम्रा खेलाडी कम अनुभवी भए पनि एपीएफ जस्तो बलियो टिमविरुद्ध राम्रो खेले। चिसो मौसमले प्रदर्शनमा असर गर्‍यो।

उद्घाटन दिनको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराँची सिटी एफसी ०–० को बराबरीमा रोकिए। बलियै देखिएको भुटानले दबाब बनाएको भए पनि गोल गर्न सकेन ।

भुटानी प्रशिक्षक येसी वाङचुक बराबरीमै निराश देखिए भने पाकिस्तानी प्रशिक्षक एडिल रिज्कीले एक अंकलाई सकारात्मक परिणाम भनेका छन् ।

Exit mobile version