
साउन २२, २०८२।
सर्लाही – बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले उनलाई एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार फैसला सुनाएको हो। अदालतले थापा र उनका परिवारको आय–व्यय विश्लेषण गर्दा उनीहरूको खर्च आम्दानीभन्दा धेरै रहेको पाइएपछि गैरकानुनी सम्पत्ति आर्जन पुष्टि भएको उल्लेख गरेको छ।
अदालती फैसलामा भनिएको छ, प्रतिवादी भरतकुमार थापा र उनका परिवारजनको समग्र आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कुल खर्च १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिएको छ। यसअनुसार उनीहरूको खर्च आम्दानीभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी रहेको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानुनी सम्पत्ति आर्जनको कसूरमा दोषी ठहर गर्दै उपदफा (२) अनुसार एक वर्ष कैद सजाय र सोही रकम बराबर जरिवाना गर्ने फैसला गरिएको हो। अदालतले थापाले बिगोबाहेक आर्जन गरेको अन्य सम्पत्तिसमेत जफत गर्न आदेश दिएको छ।
मेयर थापामाथि भ्रष्टाचार अनुसन्धानको क्रममा सम्पत्ति विवरण र उनको जीवनशैलीबीच भिन्नता देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संकलन गरेको प्रमाणको आधारमा उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरिएको थियो।