KATHMANDU DAINIK

त्रिभुवन विमानस्थलमा भन्सार घेरा तोडेर चुरोटको तस्करी

त्रिभुवन विमानस्थलमा भन्सार छलेर जहाजसम्म पुर्‍याइएको विदेशी चुरोट बरामद। २६ कार्टुन विदेशी र ६ कार्टुन नेपाली चुरोट

साउन १९, २०८२।

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सुरक्षा प्रक्रियालाई छलेर ठूलो परिमाणमा विदेशी चुरोट विदेशी गन्तव्यतर्फ पठाउने प्रयास असफल पारिएको छ। कतार जान लागिरहेको जहाजमा लोड हुन लागेको बेला विमानस्थल भन्सारले विदेशी २६ र स्वदेशी ६ गरी ३२ कार्टुन चुरोट बरामद गरेको हो।

भन्सारका अनुसार एक्स–रे मेसिनमार्फत स्क्यान गरी प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा सूचना पाएर चुरोट नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा उक्त चुरोट कतार एयरवेजमार्फत यूएई, अमेरिका, अस्ट्रेलिया लैजाने योजना रहेको खुलेको छ।

भन्सार प्रमुख दिलीपकुमार गौतमका अनुसार २६ कार्टुनमा विदेशी ब्रान्डको चुरोट थियो भने ६ कार्टुनमा नेपाली ‘शिखर’ चुरोट पाइयो। यी चुरोटहरू ८५ कार्टुन निकासीजन्य सामानका बीचमा लुकाएर राखिएको थियो।

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले सो प्रकरण गम्भीर भएको उल्लेख गर्दै दोषीलाई कारबाही हुने बताएका छन्। भन्सार र सुरक्षा घेरा पार गरेर ठूलो परिमाणमा चुरोट जहाजसम्म पुग्नु मिलेमतोबिना सम्भव नभएको भन्दै पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

पूर्वघटना जस्तै मिल्दोजुल्दो किसिमको प्रयास
सर्लाही भन्सारबाट केही समयअघि पनि स्विट्जरल्यान्ड ब्रान्डको १ करोड ४० लाख रुपैयाँ बराबरको चुरोट बरामद गरिएको थियो। यो श्रृंखलाबद्ध प्रयास हो भन्ने अनुमान गरिएको छ।

भन्सार स्क्यानिङ प्रणाली, सुरक्षा निकाय र निकासी प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको छ। गौतम भन्छन्, चुरोट पुनः मेसिनमा राखेर हेर्दा पनि पहिचान गर्न सकिने अवस्था थिएन।

यस घटनाले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक कमजोरी भएको स्पष्ट देखिएको छ।

Exit mobile version