कार्तिक २४, २०८२। उपसना पौडेल
जनकपुरधाम – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरूले तीव्र विरोध गरेका छन्।
प्रदेश प्रमुखले संविधानको धारा १६८(३) बमोजिम एमाले दलका यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनी अस्वस्थ रहेको कारण देखाउँदै बिहानै निवासबाट बाहिरिएकी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा यादवलाई गुप्त रूपमा शपथ ग्रहण गराएकी थिइन्।
यस कदमलाई असंवैधानिक र अनैतिक भन्दै विपक्षी दलहरू लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, संघीय समाजवादी लगायतका नेताहरूले मधेश भवन अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा टायर बाल्दै मुख्यमन्त्री नियुक्तिको विरोधमा नारा लगाएका छन्।
स्रोतका अनुसार नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवनतर्फ आउने जानकारी पाएपछि विरोधमा रहेका कार्यकर्ताहरूले भवन अगाडि अवरोध सिर्जना गरेका थिए। प्रदर्शनका क्रममा केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ।
यसअघि लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थितिमा २२ कात्तिकमा राजीनामा दिएका थिए। त्यसपछि एमाले प्रदेश प्रमुखले १६८(३) अनुसारको प्रावधान प्रयोग गर्दै नयाँ मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
तर एमालेभित्र पनि नियुक्ति प्रक्रिया र पार्टीभित्रको छलफलविना गरिएको निर्णयबारे असन्तुष्टि देखिएको छ। प्रदेश सभामा बहुमत सुनिश्चित नभएका बेला यस्तो निर्णयले राजनीतिक संकट अझ गहिरिने देखिएको छ।
