KATHMANDU DAINIK

बाबुराम र जनार्दनको ‘ब्याकअप’ मा नयाँ पार्टी

कात्तिक २९, २०८२।   काठमाडौं दैनिक संवाददाता

काठमाडौँ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादीका पूर्व उपमहासचिव जनार्दन शर्माको प्रत्यक्ष ‘ब्याकअप’ मा नयाँ राजनीतिक दल गठन हुने प्रक्रिया तीव्र बनेको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र रास्वपाका निवर्तमान प्रमुख सचेतक सन्तोष परियारबीच पाँच बुँदे सहमति भई नयाँ दल बनाउने निर्णय भएको हो।

भट्टराईले नयाँ शक्तिको संयोजक पद सोबलाई सुम्पेपछी  संगठनको नेतृत्वमा सक्रिय छन्। किराँती भने जनार्दन शर्माले बनाएको प्रगतिशील अभियानका संयोजक हुन्। परियारले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नयाँ राजनीतिक संरचनामा प्रवेश गरेका हुन्।

तीन नेताबीच भएको संयुक्त सहमतिपत्रमा भनिएको छ,
देशका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा जेन–जी पुस्तालाई समेट्दै मंसिर ७ गते बृहत् एकता घोषणा गर्ने र नयाँ दलमार्फत राजनीतिक पुनर्संरचनाको अभियान अघि बढाउने निर्णय गरिएको छ।

नेताहरूले भ्रष्टाचार, नातावाद, बेरोजगारी र दलगत अस्वस्थ प्रतिस्पर्धाले राष्ट्रलाई जकडिएको अवस्थामा वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन्। उनीहरूले आगामी चुनावमार्फत भ्रष्ट र अहंकारी राजनीतिक प्रवृत्तिलाई परास्त गर्न युवापुस्तालाई हातेमालो गर्न अपिल गरेका छन्।

यसैबीच निर्वाचन आयोगमा ‘प्रगतिशील नागरिक पार्टी’ नाममा दल दर्ता गर्ने तयारी भइरहेको परियारले बताएका छन्। अन्य वैकल्पिक नामहरू पनि विचाराधीन रहेको बताइएको छ ।

Exit mobile version