KATHMANDU DAINIK

बागमती स्वास्थ्य व्यवस्थापन केन्द्रका पूर्व निर्देशक सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर ८, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौँ – स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता र मिलेमतो गरेको आरोपमा बागमती प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक अर्जुनप्रसाद सापकोटासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिवादीहरुविरुद्ध ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो कायम गरी सोही अनुसार जरिवाना, हिनामिना भएको रकम असुली तथा कैद सजायको माग दाबी गरिएको छ।

आरोपपत्रमा स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाका पाँच कर्मचारी, प्रदेश लेखा नियन्त्रक कार्यालयका तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रोपाइटर नवराज श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

अख्तियारको अनुसन्धानले कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र अस्वीकार गरी बढी मूल्य कबोल गर्ने जनमुक्तिलाई मिलेमतोमा ठेक्का सुम्पिएको निष्कर्ष निकालेको छ। १३ वटा स्वास्थ्य सामग्री खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा ७ कम्पनी सहभागी थिए।

१७ माघ २०७८ मा बोलपत्र खोल्दा १ करोड २४ लाख ४४ हजार १२ रुपैयाँ कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको र त्यसबाट सरकारी रकम हिनामिना भएको आरोपपत्रमा उल्लेख छ।

कोभिड–१९ विरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि विनियोजित २ करोड रुपैयाँमध्ये बढी मूल्य निर्धारणमार्फत अनियमितता भएको दाबी गरिएको छ। अख्तियारले ठेकेदार, लेखा नियन्त्रक कार्यालय र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कर्मचारीबीच मिलेमतो देखिएको जनाएको छ।

Exit mobile version