
भदौ १, २०८२।
काठमाडौं – दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ५० सेकेन्ड लामो टिजरमा एक्सन, क्रोध, देशभक्ति र गहिरो संवेदनाको मिश्रण देखिन्छ।
निर्देशक सन्तोष सेनद्वारा निर्देशित फिल्ममा सौगात मल्ल, समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी लगायतको दमदार अभिनय देख्न सकिन्छ। टिजरले गाउँमा हुने अन्याय र अत्याचारविरुद्ध एक नायकले लिएको बदलाको कथा चित्रण गर्दछ।
टिजरमा अभिनेता मल्ल मसाल बोकेर देखा परेका छन् भने समीर भट्टलाई ‘एक्सन किङ’को रूपमा प्रस्तुत गरिएको छ। ऋचा शर्माको संवाद ‘न्यायका लागि नायक आउँछ’ भन्ने भावले कथा अझै सशक्त बनाएको छ।
फिल्म ‘बलिदान’ असोज १३ गते दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ।
बलिदान केवल एक फिल्म मात्र होईन नेपाली जनताको मनभित्र रहेको विद्रोहको प्रतिनिधित्व हो, निर्देशक सन्तोष सेनले भनेका छन् ।