साउन २३, २०८२।
काठमाडौं – नेपाली चलचित्र जगतकी चर्चित नायिका आना शर्मालाई एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गतको लुम्बिनी लाभाज टोलीले आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ।
यस निर्णयले महिला खेलाडीहरूको सशक्तिकरण र खेलकुदको लोकप्रियता अभिवृद्धि गर्ने टिमको उद्देश्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। लुम्बिनी लाभाज टिम म्यानेजर स्तुती निरौलाले आना शर्माको सहभागिताले टिमको सामाजिक र सांस्कृतिक प्रभाव अझ सशक्त हुनेमा विश्वास व्यक्त गरेकी छिन्।
नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाएकी आना शर्मा युवापुस्तामाझ अत्यन्तै लोकप्रिय रहँदै आएकी छन्। सामाजिक अभियानहरूमा समेत सक्रिय उनी यस अवसरले गर्व महसुस गरिरहेको बताउँछिन्।
लुम्बिनी लाभाज टिमलाई एभरेष्ट स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि.ले सञ्चालन गर्छ। यस नियुक्तिले महिला फ्रेन्चाइज भलिबल लिगलाई थप मजबुत र प्रभावशाली बनाउनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।