भदौ ७, २०८२।
काठमाडौँ – बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा निर्माण हुने भनिएको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना पाँच वर्ष बितिसक्दा पनि अझै प्रक्रियामै अड्किएको छ।
२०७७ माघ १३ मा सरकारले लगानी बोर्डमार्फत सिंगापुरको राइजेन इनर्जी जेभीसँग सम्झौता गर्दै विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गर्ने सहमति गरेको थियो। कम्पनीले अध्ययन प्रतिवेदन बुझाइसके पनि परियोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन।
२५० मेगावाटको योजना
बाँकेको कोहलपुरमा ७८.१६ मेगावाट
कपिलवस्तुको वाणगंगामा १७१.९ मेगावाट
साथै ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट निर्माण गर्ने योजना छ।
यस आयोजना सफल भएमा यो नेपालकै सबैभन्दा ठूलो सौर्य आयोजना हुने बताइएको छ।
परियोजनाको विस्तृत प्रतिवेदन लगानी बोर्डमा पेस भए पनि पर्यावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाउन बाँकी छ। लगानी तथा परियोजना विकास सम्झौता (PDA) को वार्तामा पनि सम्बन्धित निकायको ढिलाइका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।
परियोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी आउने अनुमान गरिएको छ। १०० प्रतिशत विदेशी लगानीमा बन्ने भनिएको यस आयोजना हालसम्म प्रशासनिक अलमलमै अड्किएको छ।
नेपाल सरकारले विद्युत् उत्पादनमा ऊर्जा मिश्रणको नीति लिएपनि हालसम्म कुल ३५९१ मेगावाट क्षमतामा सौर्य ऊर्जा केवल ११६.९४ मेगावाट मात्र पुगेको छ। यसले सरकारको वैकल्पिक ऊर्जाको लक्ष्य अझै व्यवहारमा लागू हुन नसकेको प्रष्ट देखाएको छ।