KATHMANDU DAINIK

देश संकटमा छ, चुनाव जित्नका लागि मात्रै एकता गरेको होइनौँ – प्रचण्ड

कार्तिक २७, २०८२।   उपसना पौडेल

काठमाडौँ – नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा रहेको र त्यसबाट देशलाई बचाउनका लागि पार्टी एकता गरिएको बताएका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले अहिलेको एकता केवल चुनाव जित्ने उद्देश्यले गरिएको होइन, राष्ट्र र जनताको हितका लागि ऐतिहासिक आवश्यकता बनेको बताए।

उनका अनुसार सुगौली सन्धिपछि देश यति ठूलो संकटमा कहिल्यै नपरेको उल्लेख गर्दै उनले भने, देश असाधारण संकटमा छ, त्यसैले यो एकता चुनावको लागि मात्र होइन, राष्ट्र बचाउने जिम्मेवारीका लागि गरिएको हो।

प्रचण्डले हालको राजनीतिक परिस्थिति र युवापुस्ताबाट उठेको जेन जेड आन्दोलनले पनि पुरानो राजनीतिक सोच र संरचनालाई बदल्न उत्प्रेरित गरेको यहि परिवर्तनको लहरले एकता प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्‍याएको हो।

कार्यक्रममा भीम रावलले आफ्नो अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउँदै ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

Exit mobile version