मंसिर ३, २०८२। काठमाडौं दैनिक संवाददाता

जनकपुरधाम – मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा पदअनुसार आचरण नगरेको आरोपसहित दर्ता भएको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि उनी स्वचालित रूपमा पदमुक्त भएका हुन्।
प्रदेशसभामा कुल १०४ सदस्य छन्। पदमुक्त बनाउन आवश्यक दुई तिहाइ ७२ मत पर्छ भने, सभामुखको विपक्षमा ७६ सदस्यले मतदान गरे। मण्डल बैठकमा अनुपस्थित रहेका कारण उनको पक्षमा एक मत पनि परेन।
गत कात्तिक २७ मा सात दलका ६४ सांसदले सभामुखविरुद्ध आचरणविपरीत कार्य गरेको भन्दै प्रस्ताव दर्ता गरेका थिए। विपक्षी गठबन्धनमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद थिए।
एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद भने बैठकमै उपस्थित भएनन्।
यसअघि पनि मण्डलले पहिलो कार्यकालमै सभामुख पद गुमाएका थिए। माओवादीबाट विजयी भए पनि वाम एकता भत्किएपछि उनी एमाले पुगेका थिए, जसका कारण साढे तीन वर्षमै पदबाट हटाइएका थिए।
यही कारण दोस्रो कार्यकालमा पनि उनले आफ्नो आचरण, निष्पक्षता र सदन सञ्चालन शैलीबारे असन्तोष बढ्दै गएको प्रदेशसभाका सदस्यहरूको टिप्पणी छ।