KATHMANDU DAINIK

चार महिनादेखि तलब नपाएपछि शिक्षक धर्नामा, विद्यालय ठप्प

कात्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता

राजबिराज – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरूले चार महिनादेखि तलब नपाएपछि विद्यालय बन्द गरी धर्ना सुरु गरेका छन्। कात्तिक १८ गतेदेखि गाउँपालिकाको कार्यालयअगाडि निरन्तर धर्नामा बसेका उनीहरूले शिक्षण कार्य रोकेका छन्।

रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा संघर्ष समितिका संयोजक दुखन यादवका भने, साउनदेखि तलब आएको छैन, भोको पेटले पढाउन सकिँदैन। आन्दोलनमा १६ विद्यालयका करिब ३०० शिक्षक तथा कर्मचारी सहभागी छन्।

गाउँपालिकामा राजनीतिक विवादका कारण सभासमेत बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब निकासा रोकिएको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले बताएका छन्। उनले अब छिट्टै समस्या समाधान हुने दाबी गरे।

शिक्षकहरूले तिहारअघि नै तलब उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नभएपछि विद्यालय बन्द गरेर धर्ना बस्नुपरेको जनाएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैंअघि नै सम्बन्धित निकायलाई तलब वितरण गर्न निर्देशन दिए पनि अझै कार्यान्वयन भएको छैन।

शिक्षकहरूले सरकार र गाउँपालिकालाई तत्काल तलब वितरण गर्न माग गर्दै धर्ना दिइरहेका छन् ।

 

Exit mobile version