कार्तिक २३, २०८२। राज नेपाली

पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स ले शुक्रबार पोखरा रंगशालामा ‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टको आयोजना गरेको छ, जसले संगीत र खेललाई एउटै मञ्चमा ल्याउँदै पोखराको आकाश संगीत र जोशले भरियो।
प्रसिद्ध ब्यान्ड नेपथ्य का गायक अमृत गुरुङ नेतृत्वको टोलीले “हो रामा रामा” बाट कार्यक्रम सुरु गर्दै ‘यो जिन्दगानी’, ‘रेशम’, ‘तालको पानी’, ‘लामपाते सुरती’, ‘मै नाचे छमछमी’ जस्ता चर्चित गीत प्रस्तुत गर्दा रंगशाला झन् उत्साहले गुञ्जायमान बन्यो।
करीब १० हजार दर्शकको उपस्थितिमा आयोजना भएको यस कन्सर्टमा ७ हजार ८ सय जर्सी बिक्री भएको थियो, जसबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणका लागि प्रयोग गरिने आयोजकले जनाएको छ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी का अनुसार गण्डकीमा फुटबल र भलिबल लोकप्रिय छन्, अब क्रिकेट पनि यही पहिचान बन्न सक्छ भन्ने सन्देशका साथ हामीले संगीतलाई खेलसँग जोड्यौं।
अमृत गुरुङले भने, क्रिकेट अब हाम्रो राष्ट्रिय पहिचान बन्दै छ। संगीत जस्तै हामी सबैले यसलाई पनि माया गर्नुपर्छ।
कार्यक्रममा टिकट नराखी, पोखरा एभेन्जर्सको जर्सी खरिद गर्ने दर्शकलाई प्रवेश दिने योजना अपनाइएको थियो, जसले दर्शकहरूमा उत्साह थपेको थियो। पहिलो १ हजार जर्सी १३ घण्टामै बिक्री भएको थियो।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ। पोखरा एभेन्जर्सले यसअघि ‘ट्रफी टुर’ मार्फत गण्डकीका विभिन्न जिल्लामा क्रिकेटको प्रचारसमेत गरेको थियो।