KATHMANDU DAINIK

ओलीको ‘युथ भोलिन्टियर फोर्स’ घोषणा : पार्टीभित्रै समानान्तर सत्ता अभ्यासको चिन्ता

कार्तिक २६, २०८२।   उपसना पौडेल

काठमाडौं – जेन–जेड आन्दोलनपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले युवालाई सडकमा उत्रन उक्स्याएको र ‘युथ भोलिन्टियर फोर्स’ गठनको तयारी गरेको खुलासा भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

ओलीले हालै गुन्डुस्थित अस्थायी निवासबाटै युवा संघका नेताहरुलाई ‘बाघले जसरी स्वतन्त्रताको प्रयोग गर्न’ निर्देशन दिएका थिए। उनले प्रशासनको आदेशलाई पनि चुनौती दिँदै, स्वीकृति दिनुहुन्न भने सडकमा उत्रनुस्, सिडिओको आदेश संविधानभन्दा माथि छैन, भन्ने अभिव्यक्ति दिएका थिए।

राष्ट्रिय युवा संघले ओलीको निर्देशनपछि वडादेखि प्रदेशसम्म ‘युथ भोलिन्टियर फोर्स’ गठनको निर्णय गरेको छ। महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनेको र ५ मंसिरमा औपचारिक घोषणा हुने तयारी भइरहेको बताइएको छ।

तर पार्टीभित्रै केही नेताहरूले यस कदमलाई समानान्तर सत्ता अभ्यासको रूप मान्दै आपत्ति जनाएका छन्। उनीहरूको तर्क छ, यस्तो ‘फोर्स’ले समाजमा तनाव बढाउने र अराजकता निम्त्याउने खतरा छ।

अध्यक्ष ओली भने यो फोर्स संविधान, व्यवस्था र नागरिकको सुरक्षा गर्ने शक्ति भनेर व्याख्या गर्छन्। उनको भनाइमा, सरकारले कानुनी शासन र जनताको सुरक्षा दिन नसकेकाले एमालेले यो जिम्मेवारी लिन बाध्य भएको हो।

एमालेले विगतमा पनि २०६५ सालमा ‘युथ फोर्स’ गठन गरेको थियो, तर त्यसका गतिविधि अराजक भएको आलोचना खेपेपछि २०७१ मा निष्क्रिय बनाइएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको नयाँ कदमले एमालेलाई संगठनात्मक रूपमा सक्रिय पार्न सक्छ, तर यो अभ्यासले लोकतान्त्रिक प्रणालीमा असन्तुलन ल्याउने खतरा पनि त्यत्तिकै छ।

Exit mobile version