KATHMANDU DAINIK

एमालेबाट अलग्गिएका भिम रावल नेकपामा जोडिँदै

कार्तिक २६, २०८२।   काठमाडौं दैनिक संवाददाता

भीम रावल, नेकपा, माओवादी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, एमाले, सुदूरपश्चिम राजनीति, मातृभूमि जागरण अभियान, नेपाली कम्युनिस्ट पार्टी, UML Expulsion, Political News Nepal

काठमाडौं – एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल अब नयाँ राजनीतिक यात्रामा अघि बढ्न लागेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गर्ने भएका हुन् ।

रावलको प्रवेशसँगै दाहाल–नेपाल नेतृत्वको नेकपाले सुदूरपश्चिम क्षेत्रमा नयाँ सन्देश दिन खोजेको बुझिएको छ । बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रममा मातृभूमि जागरण अभियान पनि यसै पार्टीमा समाहित हुँदैछ ।

छलफलमा सहभागी नेताहरूका अनुसार, रावललाई पार्टीको सचिवालय सदस्यका रूपमा छैटौं वरीयता दिइनेछ । साथै उनलाई पार्टी दस्तावेज लेखन समितिको जिम्मेवारी पनि दिइने सहमति भएको स्रोतले जनाएको छ ।

रावलनिकट नेता हर्कबहादुर कुँवरका अनुसार, रावल र नेकपा नेतृत्वबीच पाँचबुँदे सहमति भएको छ, जसमा ६ महिनाभित्र पार्टीको महाधिवेशन गर्ने, रावल पक्षका कार्यकर्तालाई उचित स्थान दिने र सुदूरपश्चिममा पार्टी बलियो बनाउने उद्देश्य राखिएको छ ।

एमालेबाट निष्कासित भएपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए । तर उक्त अभियान सुदूरपश्चिमभन्दा बाहिर विशेष प्रभाव जमाउन सकेको थिएन । अब नयाँ नेकपामा प्रवेशसँगै उनले आफ्नो संगठनात्मक बल र राजनीतिक हैसियत पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको राजनीतिमा रावलको प्रवेशले एमालेका लागि चुनौती बढ्ने विश्लेषण भइरहेका छन् । स्थानीय नेताहरूका अनुसार, अछामसहितका जिल्लामा रावलको प्रभाव अझै बलियो छ ।

यसअघि प्रचण्डले अछाममा आयोजित एक कार्यक्रममा रावललाई सहकार्यको प्रस्ताव दिएका थिए । त्यतिबेला उनले भनेका थिए, अब समय खेर नफालौं, आउनुस् सहकार्य गरौं।

रावलको नयाँ कदमले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमाथि पनि राजनीतिक दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

 

Exit mobile version