KATHMANDU DAINIK

एनपीएल तयारीको अन्तिम चरण: सिट जडान सकियो, फ्लडलाइट जडान अझै जारी

कार्तिक २६, २०८२।  प्रयास लामा

एनपीएल २०२५, नेपाल प्रिमियर लिग, फ्लडलाइट क्रिकेट नेपाल, त्रिभुवन विश्वविद्यालय रंगशाला, क्रिकेट नेपाल, Kathmandu Gorkhas, Janakpur Bolts, CAN Nepal, Nepal Cricket News, NPL Floodlight Installation

काठमाडौं – मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १० हजार सिट क्षमताको आरसीसी प्यारापिट निर्माण पूरा भइसकेको छ भने कुर्सी जडानसमेत सम्पन्न भएको छ । तर फ्लडलाइट जडानको काम भने अझै जारी छ ।

ललितपुरस्थित विशन–ईश्वरी जोइन्ट भेन्चर ले फ्लडलाइट जडानको जिम्मा पाएको हो । कम्पनीका प्रतिनिधि सौरभ शाहका अनुसार हालसम्म तीनवटा पोलमा लाइट जडान सकिएको छ भने बाँकी पोलहरूमा तीव्र गतिमा काम भइरहेको छ । हामीले बिहीबार वा शुक्रबारसम्म सबै पोलमा बत्ती जडान र परीक्षण सक्ने योजना बनाएका छौं, शाहले बताए ।

प्रत्येक पोलमा ७० वटा बत्ती जडान गर्नुपर्ने र कुल ४२० बत्ती जडानको योजना रहेको उनले जानकारी दिए । सबै पोलमा काम सकिएपछि एमिङ (फोकस मिलाउने) र केबल जडानका कामहरू हुनेछ । यसपटक जेनेरेटरमार्फत फ्लडलाइट बाल्ने तयारी गरिएको छ, किनभने विद्युत् प्राधिकरणको लाइनबाट सीधा आपूर्ति गर्न चुनौती देखिएको छ ।

क्यानले यसपटकका ३२ मध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरी तालिका सार्वजनिक गरिसकेको छ । यदि काम समयमै पूरा भयो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट खेल हुनेछ ।

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ, जुन साँझको समयमा खेलिनेछ । प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

बीकेओआई–केसीडीसी–बीजी जेभीले निर्माण गरेको प्यारापिटमा पाँच वर्षसम्म कुर्सी मर्मतको जिम्मेवारी सोही कम्पनीको हुनेछ । सम्झौताअनुसार काम वैशाखमा सकिनुपर्ने भए पनि ढिलाइ भएपछि सरकारले कम्पनीलाई दैनिक जरिवाना तोकेको थियो ।

आवश्यक सबै तयारी समयमै सम्पन्न भए नेपालमा पहिलोपटक फ्लडलाइटमा फ्रेन्चाइज क्रिकेट को ऐतिहासिक अध्याय सुरु हुनेछ ।

Exit mobile version