KATHMANDU DAINIK

मधेश युनाइटेडको नयाँ लोगो: भलिबल र जानकी मन्दिर

मधेश युनाइटेड, महिला भलिबल लिग, नयाँ लोगो, जानकी मन्दिर, निरुता ठगुन्ना, कोपिला उप्रेती, नीति शाह, भलिबल खेलाडी, मधेश संस्कृति, महिला सशक्तिकरण
मधेश युनाइटेडको नयाँ लोगो

साउन २२, २०८२।

काठमाडौं – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि सहभागी हुँदै गरेको मधेश युनाइटेड टोलीले नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लोगोमा खेलकुद, मधेशको संस्कृति र धार्मिक पहिचानलाई जोड दिइएको छ।

हरियो रङमा आधारित लोगोको केन्द्रमा भलिबलको आकृति राखिएको छ, जसले टोलीको खेल भावना र प्रतिस्पर्धालाई प्रतिनिधित्व गर्छ। भलिबलको वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा र तीव्रता दर्शाउँछन्। माथिल्लो भागमा जानकी मन्दिरबाट प्रेरित मन्दिरको चित्र राखिएको छ जसले मधेशको धार्मिक र सांस्कृतिक सम्पदालाई झल्काउँछ।

मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ,यो लोगो खेलकुद र संस्कृति दुबैलाई समेटेर महिलाको पहिचान, शक्ति र समर्पणलाई प्रतिबिम्बित गर्छ।

टोलीमा निरुता ठगुन्ना मार्की खेलाडीका रूपमा रहको छ। अन्य खेलाडीमा आरती सुवेदी, कोपिला राना, सरस्वती कट्टेल, स्नेहा ठगुन्ना, उषा बिष्ट, बबिता बोहोरा र बसन्ती साउद छन्। प्रशिक्षकको भूमिकामा कोपिला उप्रेती जिम्मेवारीमा छन् भने नीति शाह टोलीकी ब्रान्ड एम्बेसडर रहेका छन्।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण यस भदौ महिनामा हुने तय भएको छ। खेलाडी अक्सन समेत सम्पन्न भइसकेको आयोजकले जनाएको छ। मधेश युनाइटेडले महिला भलिबलमा मधेशको पहिचान र महिला सशक्तिकरणलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

Exit mobile version