मंसिर ३, २०८२। काठमाडौं दैनिक संवाददाता

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कीर्तिपुर मैदानमा काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जीतको सुरुआत गरेको छ। १ सय ४८ रनको लक्ष्य पछ्याउँदै आएको काठमाडौं १६.५ ओभरमै १ सय १८ रनमा समेटिएपछि सुदूरपश्चिमले पहिलो जित दर्ता गरेको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका हरमित सिंह खेलका मुख्य केन्द्र बने। उनले २० बलमा ५३ रन प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए। काठमाडौंका करण केसीले ४ विकेट लिए।
जवाफमा काठमाडौंले अपेक्षित सुरुआत गर्न सकेन। ओपनर आकाश त्रिपाठीले ३४ रन बनाए पनि अन्य ब्याटर दवाब कायम राख्न असफल रहे। धाराप्रवाह बलिङ गर्दै सुदूरपश्चिमका हेमन्त धामी, स्कट कुग्लेन र हरमित सिंहले २–२ विकेट लिए।
पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको काठमाडौं दोस्रो खेलमा भने लय कायम राख्न असफल रह्यो।
सुदूरपश्चिमले भने पहिलो खेलमै २ अंक जोडेर आफ्नो यात्राको शानदार सुरुआत गरेको छ।