कार्तिक २५, २०८२। प्रयास लामा

काठमाडौँ – ‘उज्यालो नेपाल’ पार्टीले आफ्नो ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक गरेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठन गरिएको समितिको नामावली निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीका नेता शंकर ढकालले जानकारी दिएका छन् ।
यो दल हाल मन्त्री रहेका कुलमान घिसिङको पहलमा गठन गरिएको हो। तर मन्त्री पदमा रहेका कारण घिसिङ हाल पार्टीको कार्यकारी भूमिकामा छैनन्। उनले मन्त्री पदबाट बिदा लिएपछि पार्टीको नेतृत्व लिने योजना रहेको बताइएको छ।
पार्टीको प्रस्तावित चुनाव चिन्ह “बलिरहेको बिजुलीको चिम” रहेको छ। उज्यालो नेपालको दर्ता प्रक्रिया गत साउन २७ गते सुरु भएको थियो, जसको निवेदन ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा दर्ता गराएका थिए।
यसबीच केन्द्रीय सदस्य सूचीमा नाम समावेश भएकी टासी ल्हाजोमले आफ्नो नाम बिना अनुमति राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले भनिन्, मेरो नाम हटाउन भनिसकेको छु, तर सूचीमा राखिएको छ।
पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले भने नयाँ पुस्ताका राजनीतिक व्यक्तिहरू, सुमना श्रेष्ठ, बालेन्द्र शाहलगायत सँग सहकार्यको प्रयास भएको तर अन्तिममा सहमति जुट्न नसकेको बताएका छन्।