कार्तिक २५, २०८२। उपसना पौडेल

काठमाडौं – अमेरिकामा कार्यरत नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २२ कात्तिकदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
सरकारले गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत भारतबाहेक ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले १६ कात्तिकमा उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेपछि स्थिति अन्योलमा परेको थियो।
अदालतको आदेशपछि पनि सरकारले ती राजदूतहरूलाई स्वदेश फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। रेग्मीले पनि सो निर्णयपछि राजीनामा दिने निर्णय गरेका हुन्।
लोकदर्शन रेग्मी २०७६ सालमा तत्कालीन सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए। उनी यसअघि परराष्ट्र सेवा अन्तर्गत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका अनुभवी कूटनीतिज्ञ हुन्।
राजदूत रेग्मीको राजीनामासँगै अमेरिका स्थित नेपाली दूतावास अस्थायी रूपमा कार्यवाहक प्रमुखमार्फत सञ्चालन हुने भएको छ। नयाँ राजदूत नियुक्तिको प्रक्रिया सरकारको आगामी निर्णयमा निर्भर रहनेछ।