KATHMANDU DAINIK

अब पोखराबाट अष्ट्रेलिया उडान: सिचुवान एयरलाइन्सले अनुमति माग्यो

भदौ १२, २०८२।

काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान सुरु हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ र यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कम्पनीसँग आवश्यक छलफल भइरहेको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी गरिएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने योजना बनाएको छ।

सिचुवान एयरलाइन्सले यसअघि पनि पोखराबाट चार्टर उडान सञ्चालन गरिसकेको थियो। नियमित उडान सुरु भएमा अष्ट्रेलिया आवत–जावत गर्ने नेपाली यात्रुका लागि सहजता हुने विश्वास गरिएको छ।

यसैबीच भूटान एयरलाइन्सले पनि पोखरा विमानस्थलबाट चार्टर्ड उडान गर्ने तयारी गरेको छ। पारो इन्टरनेसनल एयरपोर्ट हुँदै दिल्लीसम्म जोड्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

हाल पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनी हिमालय एयरलाइन्स मात्र रहेको छ। सिचुवान र भूटान एयरलाइन्सले सेवा सुरु गरेपछि विमानस्थल थप चलायमान हुने र अन्तर्राष्ट्रिय यात्रु आकर्षित गर्ने अपेक्षा लिइएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने जजिरा एयरवेज र थाई एयर एसियाले पुनः उडान सुरु गर्ने तयारी गरेका छन्। दुबै कम्पनीले अक्टोबरदेखि हप्तामा दुईवटा नियमित उडान गर्ने योजना बनाएका छन्।

नेपाल सरकारले पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानलाई विशेष छुट र सहुलियत दिएको छ। यात्री सेवा शुल्क, पार्किङ, ल्यान्डिङ तथा अन्य प्राविधिक शुल्कमा छुट दिइएको छ, जसले यी विमानस्थलमा विदेशी एयरलाइन्स आकर्षित हुने विश्वास गरिएको छ।

पोखराबाट अष्ट्रेलियाको नियमित उडान सुरु हुनु नेपाली यात्रु र पर्यटन व्यवसायका लागि महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।

Exit mobile version