
भदौ ४, २०८२।
काठमाडौं – झापाको श्री चमरधाप प्राथमिक विद्यालयमा हाल कक्षा ३ सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। तर यो विद्यालय अरूभन्दा केही फरक छ। यहाँ शिक्षिका कुन्ता राई केवल विद्यार्थी पढाउने मात्रै होईन उनी विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न आफैँ सिटी सफारीको स्टेरिङ सम्हाल्दै विद्यालय ल्याउने र घर पुर्याउने काम पनि गर्छिन्।
२९ वर्षीया शिक्षिका राईको दिनको सुरूवात विद्यार्थीहरूलाई घर–घर पुगेर विद्यार्थीहरू ल्याउने कामबाट हुन्छ। बिहान उनी सिटी सफारी चलाएर बच्चाहरूलाई विद्यालय ल्याउँछिन्, कक्षामा पढाउँछिन्, अनि फेरि विद्यालयपछि सिटी सफारीमा घरसम्म सुरक्षित पुर्याउँछिन्।
म अहिले लोक सेवा आयोगको तयारी गर्दै छु,उनले भनिन्, तर नाम निकालेर यही पेसामा आफूलाई राखेर काम गर्न पाउँदा धेरै खुसी लाग्छ। मेरा अरू साथीहरू विदेश जाने सोचमा छन्, तर म आफ्नै देशमा शिक्षिका बनेर विद्यार्थीको भविष्य निर्माण गर्न चाहन्छु।
शिक्षिका राईको यो त्याग र समर्पणले शिक्षकको भूमिका केवल कक्षामा पढाउने मात्रै नभइ विद्यार्थीहरूको जीवन र सुरक्षासम्मको जिम्मेवारी पनि हो भन्ने सन्देश दिएको छ।
उनको उदाहरणिय कामले समुदायमा शिक्षकको सामाजिक भूमिकालाई नयाँ दृष्टिकोण दिएको छ। स्थानीय अभिभावकहरू समेत उनको यो समर्पणप्रति प्रशंसा व्यक्त गर्ने गर्छन्। शिक्षिका राईको यो प्रतिबद्धता नेपाली शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको छ ।